मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न सङ्घीय सरकार र दातृ निकायहरूसँग आग्रह गरेका छन्।
मङ्गलवार बिहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरूसँग छलफल गर्दै मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउँदै मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरूबाट गर्न सकिने तत्कालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्न आग्रह गरे।
प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै मुख्यमन्त्री सिंहले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे।
‘प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट सङ्कटमा रहेका वेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरूलाई आग्रह गर्दछु,’मुख्यमन्त्री सिंहले भने।
सुख्खाका कारण धान रोपाइ हुन नसके यसले आगामी दिनमा खाद्यान्न सङ्कट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडी बढाउन मुख्यमन्त्री सिंहले समपूर्ण सरोकारवालाहरूलाई निर्देशन दिए।
अहिलेबाट नै काम सुरु गरौँ, कहाँ समस्या आउँछ मलाइ भन्नुहोस् तर अव नागरिकलाई यो समस्याबाट निकाल्नु हामी सबै गम्भीरताका साथ लागौँ–मुख्यमन्त्री सिंहले भने।
उनले सुख्खा र खानेपानी समस्याको समाधानका लागि सङ्घीय सरकारसँग आवश्यक छलफल भइरहेको बताए। मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन समेत आग्रह गरे।
बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री,गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, विभिन्न दातृ निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।