वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी सङ्कट समाधानका लागि मधेस प्रदेश सरकारले पहल सुरु गरेको छ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसँग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी सङ्कटबाट अति प्रभावित क्षेत्रमा बुधवार (आज) पठाइएको छ।
मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रहरूलाई प्रभावित क्षेत्र तर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा सरकार क्रियाशील रहेको जानकारी दिए।
एउटा वारुणयन्त्र ५ हजार लिटर गरी ८ वटा वारुणयन्त्रबाट एक पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिने मुख्यमन्त्री सिंहले बताए। खानेपानी समस्या रहेको स्थानमा उक्त वारुणयन्त्रहरू २४ सौं घण्टा परिचालित रहने छ। सो वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले सञ्चालन गर्नेछ।
यस अघि प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ। यसैगरी खानेपानी समस्या रहेका अन्य क्षेत्रहरूमा नेपाली सेनासँग समन्वय गरी ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।
सुक्खा र खानेपानी सङ्कटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको उनको भनाई छ।
विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले सङ्घीय सरकार, स्थानीय सरकारहरू र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरूसँगको समन्वयमा साधन स्रोतको अधिकतम प्रयोग गरी नागरिकको समस्या समाधान गर्ने तर्फ प्रयत्नशील रहेको मुख्यमन्त्री सिंहले बताए।