नागढुंगा–मुग्लीन सडक खण्ड अन्तर्गत पश्चिम खण्ड स्थित कृष्ण भिर क्षेत्रमा यति बेला सडक पुनर्निर्माणको कार्य भइरहेको छ।
गत वर्षको असोज ११ र १२ मा भएको भीषण वर्षा पश्चात् यस क्षेत्रको सडक किनार करिब ५० सेन्टिमिटर जति दबेको थियो। त्यसपछि विज्ञ सहितको टोलीले अध्ययन गरेपश्चात् अहिले यस क्षेत्रमा पाइलिङको काम भइरहेको छ। नदिले कटान गरेका स्थानमा पनि चेक ड्याम लगाउने काम भइरहेको छ।                                                                          
नागढुंगा–मुग्लीन सडक अन्तर्गत पश्चिम खण्डका योजना प्रमुख केदार प्रसाद नेपालका अनुसार २०५७ सालमा यस क्षेत्रमा ठुलो पहिरो आए पश्चात् ६/७ वर्ष लगाएर सडक विभागले बायो इन्जिनियरिङ, चेक ड्याम र विभिन्न स्ट्रक्चरहरु लगाएर पुनर्निर्माण गरेपछि खासै ठुलो समस्या देखिएको छैन।
राजमार्ग विस्तारका क्रममा कृष्ण भिरको भिरलाई काट्ने वा भत्काउने योजना नभएको उनले बताए। उनका अनुसार यस राजमार्गमा पहिरोको जोखिम कम गर्न निर्माण व्यवसायी र परामर्शदाताहरूलाई उपकरणहरू तैनाथ राखेर मलेखु, हुग्दी पुल र कुरिनटारमा १२ वटाभन्दा बढी उपकरणहरू २४ सै घण्टा तयारी अवस्थामा रहेका छन्। पहिरो आएर राजमार्ग बन्द हुनासाथ आधा घण्टाभित्र ती उपकरणहरू त्यहाँ पुग्ने उनले बताए।
हाल सम्म यस सड्क खण्डको करिब ३२ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ। ४० किलोमिटर लामो यस खण्डमा मलेखु देखि ५ किलोमिटर सर्भे डिजाइन गर्ने क्रममा डाटा फेरबदल हुँदा काममा केही ढिलाइ भएको उनले बताए।
अहिले यस करिडोरमा निर्माण सामग्रीहरू पनि निकै अभाव रहेको छ। ‘एक वर्षमा डेढ लाख घन मिटरभन्दा बढी नदीजन्य सामग्रीको आवश्यकता रहन्छ तर स्थानीय निकायहरूसँग राजश्व तिरेर निकाल्दा खेरी करिब ३० हजारको मात्रै अनुमति पाइने भएकाले निर्माण सामाग्रीको अभावले काममा केही ढिलाइ भएको उनले बताए। आगामी आर्थिक वर्षमा यस खण्डको काम समापन हुनेछ।