भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन्।
बुधवार महानगर यातायातको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रका समस्या समाधानका निम्ति प्रयत्न भएको भन्दै निरन्तर व्यवसायीहरूसँग पनि छलफल भइरहेको बताएका हुन्। 
उनले भने, ‘यातायातको क्षेत्र धेरै विकास भएको छ। यसलाई व्यवस्थित गर्दैछौ। यातायात व्यवसायीहरूसँग बसेर हामीले उहाँहरूको समस्याका बारेमा छलफल गरेका छौ। समस्या समाधानका निम्ति हामीले प्रयत्न गरेका छौ। सङ्घीय संरचना अनुसार सङ्घ, प्रदेश र स्थानीय तहहरूले आफ्नो आफ्नो अधिकार अनुसार काम भइरहेका छन्। कतिपय प्रदेशले गर्ने काम सङ्घले गरिरहेको छ। ड्राइभिङ लाइसेन्सको समस्याको समाधान भइसकेको छ।’ 
उनले पूर्वदेखि पश्चिमसम्म समेट्ने गरी राजमार्गहरू निमार्ण गरिरहेको भन्दै कोरिडोरहरु पनि रहर लाग्दा बनिरहेको बताए। 
उनले भने, ‘हामी पूर्वपश्चिममा चार वटा राजमार्गहरू बनाउँदै छौ। त्यसमध्ये एउटा एसियन स्ट्रेन्जरको एसियन राजमार्ग बनाउँदै छौ। सबैभन्दा दक्षिणतिरको हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पहाडी राजमार्ग यी पूर्वदेखि पश्चिमसम्म समेट्ने राजमार्ग बनाउँदै छौ। यसको प्रगति धेरै गतिमा त हैन तर ठिकै गतिमा यसको प्रगति भइरहेको छ। उत्तर दक्षिणका कोरिडोरहरु बनाउँदै छौ हामी यी कोरिडोरहरु रहर लाग्दा बनिरहेका छन्।’ उनले सोचे जस्तो प्रगति गर्न नसके पनि काम भने भइरहेको बताए।