सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ। श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ।
सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो।
सहमतिअनुसार उक्त पारिश्रमिकमध्ये आधारभूत पारिश्रमिकबापत १२ हजार १७० रुपैयाँ र महँगी भत्ताबापत ७ हजार ३८० रुपैयाँ रहेको छ। 
श्रमिकको तलब यसअघिको भन्दा २ हजार २५० रुपैयाँले बढी हो। यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो। यो पारिश्रमिक प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो भने आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ न्यूनतम पारिश्रमिक थियो।
नयाँ पारिश्रमिक साउन १ गतेदेखि नै लागू भएको छ। चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेपछि निर्धारण हुनेछ।
यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ रहेको छ। यसमध्ये आधारभूत ४७० र महँगी भत्ता २८४ रुपैयाँ छ।
त्यस्तै, प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। यसमध्ये आधारभूत ६३ र महँगी भत्ता ३८ रुपैयाँ कायम गरिएको छ।