२०२७ सालमा सल्यानबाट सुर्खेतको मैनतडा आएका धनबहादुर सार्कीले ५२ वर्षपछि आफूले भोगचलन गर्दै आएको जग्गाको धनी पुर्जा पाएपछि हर्षका आँसुका, अब मरे पनि सन्तोषले मरिने भयो भनेर खुसी व्यक्त गरे।
५२ वर्षदेखि ऐलानीमै बस्दै आएका ८२ वर्षीय धनबहादुरलाई जग्गाधनी पुर्जा पाएपछि अब आफ्ना नम्बरी जग्गाकै घरमा मर्न पाउँछु भन्ने आशाको खुसी व्यक्त गरे।
जग्गा भएपनि पुर्जा नहुँदा कतिखेर के हुन्छ भन्ने चिन्नामा पाँच दशक लामो समय बिताएका उनले शुक्रवारदेखि ढुक्कको सास फेरेको बताए।
‘२०२७ सालमा बुबाले ६ हजार रुपैयाँमा किनेको १७ रोपनी ऐलानी जमिनको जग्गाधनी पुर्जा पाएपछि आफ्नै जग्गा हो भन्ने लागेको छ’ उनले भावुक भएर भने, ‘जमिन जोत्दै आए पनि आफ्ना नाममा थिएन आज बल्ल मेरै हो भन्ने लागेको छ।’ 
भेरीगंगा नगरपालिकाकी ७१ वर्षीया मोती खत्रीले पनि बसोबास गरेको ५२ वर्षपछि जग्गाधनी पुर्जा पाइन्। सुर्खेतकै सिम्ताबाट ५२ वर्ष अघि भेरीगंगा आएको उनको परिवारले पनि पाँच दशक लामो समय ऐलानी जग्गा खनजोतमै बिताएको सम्झिँदै जग्गा धनी पुर्जा पाउँदा खुसी लागेको बताइन्।
‘बस्तीमा सडक, बिजुली, खानेपानी जस्ता पूर्वाधार भए पनि लालपुर्जा नहुँदा कसाइँको स्थायित्व थिएन’ उनले भनिन्, ‘लालपुर्जा पाए पछि अब ढुक्क भयौ।’ 
सुकुम्वासी तथा अव्यवस्थित बसोबास भएका बस्तीहरूमा राजनीतिक दलहरूले जग्गाधनी पुर्जा बाँड्ने चुनावी नारा बनाउँदै आएपनि सुकुम्वासीले पुर्जा पाएका थिएनन्।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शुक्रवार लेकबेशी र भेरीगंगा नगरपालिकाका २४७ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र बाँडेका थिए। 
जग्गाधनी प्रमाण पत्र वितरण गर्दै उपसभापति खड्काले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नु वर्तमान सरकारको ऐतिहासिक उपलब्धि भएको बताए।
भूमि सम्बन्धी समस्या समाधानका लागि भूमिसम्बन्धीको ऐन आएपछि सबै नागरिकलाई जग्गाविहीन हुन नदिने गरी वर्तमान गठबन्धन सरकारले काम गरिरहेको उनको भनाई छ।
भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष केशरबहादुर ओलीले प्रक्रिया पूरा भएका सबै नागरिकलाई जग्गाधनी पुर्जा वितरणमा आयोग लागेको बताए।