रौतहटमा प्रतिबन्धित लागूऔषध गाँजासहित प्रहरीले कार बरामद गरेको छ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कारबाट १ सय ३३ किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रहरी टोलीले मंगलवार बिहान चेकजाँच गर्ने क्रममा कार रोक्न खोज्दा चालकले तीब्र गतिमा गुडाएर भागेको थियो।
प्रहरी टोलीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका ५ झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी फेला परेको उनले जानकारी दिए। कारमा सवार व्यक्तीहरु उखुवारी हुँदै फरार भएकाले खोजी कार्य भइरहेको डिएसपी कार्कीको भनाइ छ। क्रेनको सहायताले कारलाई बाहिर निकालेर गाँजा काँटा गर्दा उक्त परिणाममा रहेको प्रहरीले उल्लेख गरेको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।