बंगलादेशमा साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली महिला टोली स्वदेश फर्किएको छ। नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का  प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

नेपाली टोली प्रतियोगितामा उपविजेता भयो। डबल राउण्ड रोबिनमा खेलाइएको प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो।

सोमबार बेलुका भएको बंगलादेशसँगको निर्णायक खेलमा ४-० को हार बेहोरेपछि नेपाल उपाधिविहीन बनेको थियो। यस खेलमा जित निकालेको अवस्थामा नेपालको उपाधि जित्ने सम्भावना रहन्थ्यो।

बंगलादेश, नेपाल, भुटान र श्रीलंका गरी चार टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा बंगलादेशले ६ वटै खेल जितेर १८ अंक जोड्दै शीर्षस्थानमा रहेर च्याम्पियन बन्यो।

यस्तै नेपालले ४ जित र २ हारसहित १२ अंक मात्र जोडेर दोस्रो भयो। नेपालले भुटानलाई ६-१ र ८-० तथा र श्रीलंकालाई दुवै खेलमा ७-० गोलअन्तरले हराएको थियो।