विराटनगरका दुई क्यासिनोबाट २० जना पक्राउ परेका छन्। प्रहरीले आइतबार मध्यराति छापा हानेर क्यासिनोका व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।

आइतबार बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटल भित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनोमा प्रहरीले छापा मारेको थियो।

छापा मार्ने क्रममा रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना नेपालीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख कबित कट्वालले जानकारी दिए।

पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित २० जना नेपाली छन्। प्रहरीले छापा मार्दा क्यासिनोमा नेपाली भेटिएकाले पक्राउ गरिएको कटवालले बताए। उनले भने, ‘क्यासिनोमा नेपाली प्रवेश निषेध छ। निषेध भएको ठाउँमा प्रवेश गराएको देखिएकाले व्यवस्थापकसहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’

पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन। ‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। कटवालले भने, ‘केहीले ‘हामी कर्मचारी हौँ’ भनेका छन्। कर्मचारी भन्नेहरूको परिचयपत्र खोज्दैछौँ । ‘स्कृनिङ’ गरिसकेपछि मात्रै कति जनाविरुद्ध मुद्दा चल्छ भन्ने यकिन हुन्छ।’

प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्बाध जुवाजन्य खेल खेल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको जानकारी एसपी कटवालले दिए।