गृहमन्त्री ओम प्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचनको विषयमा शंका नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्। 

राष्ट्रिय सुरक्षामा कुनै पनि प्रकारको संकट आउन नदिन सरकार निरन्तर सक्रिय रहेको भन्दै आगामी फागुन २१ गते हुने निर्वाचनबारे कुनै शंका नगर्न उनले आग्रह गरे। उनले केही साना चुनौती देखिए पनि निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने दाबी गरे।

मन्त्री अर्यालले सबै राजनीतिक दलहरूलाई निर्वाचनलक्षित गरी आआफ्नो आन्तरिक तयारीमा लाग्न पनि आग्रह गरे।

उनले वर्तमान अन्तरिम सरकार जेनजी आन्दोलनको जगमा बनेको स्पष्ट पार्दै सरकारको मुख्य जिम्मेवारी देशको अवस्था सामान्यीकरण गर्दै विधिको शासन पुनःस्थापना गर्नु रहेको बताए। 

उनले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराई शासकीय जिम्मेवारी निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु नै सरकारको प्रमुख कार्यभार भएको प्रष्ट पारे। जेनजी आन्दोलनको समयमा राष्ट्रिय सुरक्षा अवस्था गम्भीर संकटमा पुगेको स्मरण गर्दै गृहमन्त्री अर्यालले नेपाली सेनालाई समेत सडकमा उतार्नुपर्ने अवस्था आएको बताए।

“देशमा उत्पन्न संकटलाई वैधानिक र संवैधानिक तरिकाले समाधान गर्नकै लागि अन्तरिम सरकार गठन गरिएको हो,” गृहमन्त्री अर्याल भने, “देशमा पुनः द्वन्द्व नदोहोरियोस् र स्थिति सामान्य रहोस् भन्ने उद्देश्यले सरकारले विधिको शासन र सुशासन कायम गर्न विशेष ध्यान दिइरहेको छ।”

सुशासन दिन नसके फेरि विद्रोहको सम्भावना रहन्छ भन्नेमा सरकार पूर्ण सचेत रहेको भन्दै गृहमन्त्री अर्यालले बताए। पछिल्लो समय राजनीतिक दलहरूले पनि नयाँ पुस्तालाई अवसर दिन थालेको उल्लेख गर्दै उनले जेनजी पुस्तालाई मूलधारको राजनीतिमा ल्याउनु सरकारको उद्देश्य रहेको स्पष्ट पारे।