दुबईको एक अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुलाका अमरबहादुर बमको बचाउका लागि अभियान थालिएको छ। बुधबार पत्रकार सम्मेलन गरी अभियान घोषणा गरिएको हो।

सरकारको ध्यानार्कषण गराउन र बमको रिहाइको पहलका लागि दबाब दिन देशव्यापी अभियान थालिएको हो। अभियानअन्तर्गत पहिलो चरणमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिएको अभियन्ता जन्मदेव जैसीले बताए।

पुस ११ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, पुस १२ गतेदेखि सामाजिक सञ्जालमा फोटोसहित सरकार निर्दोष अमरलाई बचाउ भनेर अभियान चलाउने, पुस १४ गते राजदूतावासलाई पत्र बुझाइने अभियानले जनाएको छ।

त्यस्तै, पुस १६ गते प्रधानमन्त्रीलाई ह्यासट्याग गरेर सामाजिक सञ्जाल अभियान चलाउने, पुस १७ गते प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई एसएमएस पठाउने, पुस २० गते हस्ताक्षर अभियान गर्ने र पुस २२ गते संकलित हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाउने कार्यक्रम समेत घोषणा गरिएको हो।