प्रतिनिधि सभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ रोचक देखिएको छ। नेपाली कांग्रेसका महामन्त्री गुुरुराज घिमिरे र दुई पटक चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा रहनुभएका नेकपाका उम्मेदवार अमनलाल मोदि सहित नयाँ अनुहार निर्वाचनमा होमिएका कारण यस क्षेत्र चासोको विषयमा हेरिएको छ।
विगतमा दुईवटा निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेर जितेको नेपका (माओवादी केन्द्र) यस पटक नेपाली कम्युनीष्ट पार्टीको नामबाट एकल रुपमा प्रतिस्पर्धामा होमिएको छ। हालै कांग्रेसका महामन्त्री बन्नुभएका गुरूराज घिमिरे पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नुभएको हो।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनबाट माओवादीका अमनलाल मोदी ३० हजार ६ सय १२ मतसहित विजयी हुनुभएको थियो। समानुपातिकतर्फ भने सबैभन्दा बढी १९ हजार ५ सय ५५ मत नेपाली कांग्रेसले पाएको थियो। एमालेले १८ हजार तीन सय ८६ मत पाउँदा माओवादी केन्द्रले नौ हजार ७ सय ६० मत ल्याएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार २ सय ७० मत ल्याएको थियो। यस पटक केही नयाँ दल सहित नयाँ अनुहारले पुरानालाई चुनौती दिएका छन्।
यो क्षेत्रमा एक लाख १९ हजार २ सय ५५ मतदाता छन् भने यस पटक नौ हजार ७८ जना मतदाता थपिएका छन्। २०७९ र २०७४ को निर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनमै निर्वाचित मोदी यो पटक पनि जित आफ्नै पक्षमा आउनेमा ढुक्क रहेको बताउनुहुन्छ।
विगतको निर्वाचनमा नेपाली कांग्रेसको लोकप्रिय मत भएकाले यस पटक जित सहज हुने बिराटनगरका मतदाता लिला प्रसाद काफ्ले बताउनुहुन्छ। एमालेबाट पूर्वप्रदेश मन्त्री जीवन घिमिरे चुनावी मैदानमा हुनुहुन्छ। पार्टी संगठन र आफ्नो अनुभवले जित आफ्नो पक्षमा आउने विश्वास घिमिरे बताउनुहुन्छ।
पुराना दलहरूले विकास, निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेका कारण जनता परीवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको राष्ट्रिय स्वतन्त्र पार्टीकोका उम्मेदवार सन्तोष राजवंशी बताउनुहुन्छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृती पार्टी, नेपाल मजदुर किसान पार्टी सहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको मोरङ ४ मा उम्मेदवारहरू चुनावी प्रचारप्रसारका क्रममा मतदातासँगै हुनुहुन्छ।




















