दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनापछि उद्धार तथा बेपत्ता यात्रुको खोजीकार्य जारी रहेको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान करिब ११ः३० बजे अनियन्त्रित भई सडकबाट करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।
उद्धारका क्रममा दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त शव सडकसम्म ल्याउने प्रयास गरिरहेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन। बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको उनले जानकारी दिए।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।




















