लामो समयदेखि काम नभएर अलपत्र अवस्थामा रहेको कैलालीको चिसापानी–कुईने जोड्ने सडक अलपत्र निर्माणको काम सुरु भएको छ।
सडक क्षेत्रमा पर्ने रुक कटानको आदेश नपाएको भन्दै वर्षौँदेखि सडक निर्माण कार्य अलपत्र परेको थियो। वर्षौँ पहिले ट्रयाक खोल्ने काम भए पनि अपेक्षाकृत प्रगति नभएपछि स्थानीयवासी आन्दोलित भएका थिए।
पछिल्लो पटक आइतबार मात्र उक्त सडक निर्माणको मागसहित लम्की चुहा निवासी नेत्र भण्डारीले कर्णाली नदीस्थित चिसापानी पुलमा अनसन बसेर आन्दोलन थालेका थिए।
भण्डारीले पुलमा अनसन बसेको केही दिनमा रुख कटानको सम्झौता गरिएको हो। यो सडकमा पर्ने ४७२ रुख तथा पोलहरू हटाउन वन तथा भू–संरक्षण विभाग र सडक विभागको भू–वातावरण तथा सामाजिक शाखासँग सम्झौता गरिएको छ। 
सम्झौतामा १६ किलोमिटर भित्रका रुख तथा पोल हटाउने उल्लेख छ। तर चिसापानी–कुइने सडकको लम्बाई १२ किलोमिटर हो। चिसापानी बजार क्षेत्रको दुई किलोमिटर सडक यसअघि नै कालोपत्रे गरिएको थियो।
बाँकी सात किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले २०७९ सालमा ठेक्का लगाइसकेको हो। सडक किनारामा रुख परेकाले अपेक्षाकृत निर्माणको काम गर्न नसकेको सडक डिभिजन कञ्चनपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार यादव बताउँछन्।
‘रुख कटानका लागि सम्झौता भएको छ, अब निर्माणमा कुनै विलम्ब हुँदैन। निर्माण व्यवसायीलाई साइटमा परिचालन गरिसकेका छौँ,’ यादवले भने, ‘असारसम्म निर्माणका लागि म्याद थप गरिएको छ। यो वर्षात् अगाडी सम्पन्न नभए माघसम्म काम सक्ने गरी हामी लागेका छौँ।’
कालोपत्रेका लागि १३ करोडको लागतमा दिव्य ज्योति शाही लम्कीले जिम्मा पाएको सडक हो। वैशाख महिनाभित्र रुख कटानको काम सकेर बाँकी रहेको काम तीव्र गतिमा अगाडी बढाउने तयारी गरिरहेको दिव्य ज्योति शाही लम्कीका सञ्चालक देवेन्द्र शाही बताउँछन्।
‘रुखका कारण काम खासै गर्न सकेका थिएनौँ,’ शाहीले भने, ‘अहिले रुख नभएको क्षेत्रमा नाली निर्माण र कटानको काम गरिरहेका छौँ। वर्षात् अगाडी सकेसम्म कटिङको काम सक्ने तयारी छ।’
सात किलोमिटर सडक ८ देखि १० किलोमिटर डवल कटिङ र पाँच मिटर कालोपत्रे गरिनेछ। कैलाली र सुर्खेत जोड्न कुईनस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल निर्माणपछि सञ्चालनमा आइसकेका छन्। कर्णाली सरकारले कुइने–गल्फा, गल्फा–बावियाचौर सडक कालोपत्रे गर्ने गरी ठेक्का व्यवस्थापन गरिसकेको छ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतले बावियाचौरदेखि कुहिनेसम्म झन्डै १८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ मै अनक जयदेवी सनलाइट जेभी र जलजला जेभीसँग दुई प्याकेजमा निर्माण सम्झौता गरेको हो। यो सडकका लागि झन्डै २५ करोड बजेट विनियोजन गरेको छ।
बावियाचौर–भक्तडी–जंगलाघाटसडक वर्षौँ पहिले ट्र्याक खोलिएको हो। पञ्चपुरी नगरपालिकाले छाप्रेका नागरिकहरूलाई सहज आवतजावतका लागि सडक अवरुद्ध भएको बेला खुलाएर सञ्चालनमा ल्याउने गरेको छ।
सुदूरपश्चिम सरकारले कैलाली–सुर्खेत–अछाम हुँदै बाजुराको बडिमालिका जोड्ने उद्देश्यले अछाममा गौरवको आयोजनाको रूपमा काम गरिरहेको छ। सुदूरपश्चिम सरकारले अछाम खण्डको ५० किलोमिटर सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरेको छ। अछामको गैरीटार–कमलबजार, तुर्माखाँद–जंगलाघाट सडक निर्माण भइरहेको छ।
गैरीटारदेखि कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाको सिमाना बासकाँडासम्म सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७९/०८० मै ठेक्का लगाएर हो।
गैरीटार–बासकाँडासम्मको दुरी २३ किलोमिटर सडक ग्राभेल अन्तिम चरणमा छ। अछामकै बासकाँडा–तुर्माखाँद–जंगलाघाट २७ किलोमिटर सडक डवल कटिङ र ग्राभेल गर्ने भइरहेको छ।
जंगलाघाटमा पक्की पुल निर्माणसँगै सुर्खेत खण्डमा छिटो काम हुने हो भने सिङ्गो अछामका नागरिक १२ घण्टा लगाएर धनगढी पुग्नुपर्ने अहिलेको बाध्यता अन्त्य हुनेछ।
बावियाचौरबाट अछामका तुर्माखाँद, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका नागरिकहरू जोखिम मोलेर यात्रा गरिरहेका छन्। 
चिसापानी–कुइने बावियाचौर ३०, बावियाचौर–भक्तडी–जंगलाघाट १८, जंगलाघाट–तुर्माखाँद–कमलबजार–गैरीटार ५० र गैरीटार–मंगलसैन २१ किलोमिटर गरी चिसापानी–बावियाचौर–मंगलसैनसम्मको दुरी ११९ किलोमिटर छ।
सडक निर्माणपछि कैलालीको अत्तरियाबाट डडेल्धुरा–डोटी–साफेबगर–मंगलसैन र अत्तरियार–कोहलपुर, सुर्खेत–दैलेख–मंगलसैन पुग्न झन्डै तीन सय किलोमिटर छोटो पर्छ। 
जंगलाघाटस्थित कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि पुल सेक्टर सुर्खेतले ठेक्का व्यवस्थापन गरेर काम जारी राखेको छ। १६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्शन प्रा.लि. काठमाडौँले जिम्मा लिएको छ। यो पुल २०८३ कार्तिकसम्ममा सक्ने लक्ष्य छ।