नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्ने बताएका छन्।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकातिर योजना बनाउने र अर्कोतर्फ काम गर्दा लक्ष्यमा पुग्न नसकिने बताएका हुन्।
उनले भने, ‘१६औँ पञ्चवर्षीय योजनाअनुसार बजेट बन्न सक्नुपर्छ। एकातिर हामीले योजना बनाउने, काम चाहिँ अर्को तर्फ गरेपछि लक्ष्यमा पुग्न सकिँदैन। अहिलेसम्म हामीले पञ्चवर्षीय योजनाअनुसार काम गर्न सकेका छैनौँ। त्यसैले हामीले यसलाई आधार मानेर जान सक्नुपर्छ।’
साथै, उनले मानव सूचांकको आधारमा बजेट विनियोजन गरिनुपर्ने सुझाव दिए। उनले मधेस प्रदेश शिक्षामा सबैभन्दा पछि परेको र गरिबीमा कर्णालीपछि दोस्रोमा पनि मधेस प्रदेश नै परेकोले मानव विकास सूचांकको आधारमा बजेट छुटाउनुपर्ने माग गरे। उनले मधेसलाई सामाजिक र आर्थिक रूपमा रूपान्तरण गर्न आवश्यक रहेको औँल्याए।
उनले भने, ‘मानव सूचांकको आधारमा चाहिँ हामीले बजेट विनियोजन गर्नुपर्छ। जसले गर्दा विगतमा पनि सबैको असन्तुष्टि रह्यो। हाम्रो मधेस प्रदेश शिक्षामा सबैभन्दा पछाडि छ र गरिबीमा कर्णाली पछि दोस्रो पनि मधेस प्रदेश नै छ। यो मानव सूचांकको आधारमा यस पटक चाहिँ हाम्रो सरकारले बजेट विनियोजन गरोस्।’