सङ्घीय संसद्अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६० औँ बैठकमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ।
बैठकमा समितिका सभापति किरणकुमार साहले मानव सभ्यता र संस्कृतिसँग जोडिएको मानव बेचबिखन अहिले गम्भीर समस्याको रूपमा देखा परेको बताए। उनले भने, ‘हामीले कानुन त बनायौँ, तर कार्यान्वयन पक्षमा चुनौती देखिन्छ। महिला दिदीबहिनीहरूलाई अन्य मुलुकमा अनैतिक रूपमा ओसारपसार गरी बेचबिखन गर्ने कार्य अझै रोकिएको छैन।’
सभापति साहले भारत, कुवेत, इरान, दुबईलगायतका मुलुकमा नेपाली महिला बेचबिखनको शिकार भइरहेको बताए। हजारौँ नेपाली नागरिकहरू त्यहाँ अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि गम्भीर ढङ्गले ध्यान दिनुपर्नेमा जोड दिए।
उनले भने, ‘भारतलगायत कुवेत, इरान, दुबईलगायतका देशमा हाम्रा दिदीबहिनीहरू बेचबिखनका सिकार भएका छन्। यसलाई गम्भीर चासोको साथ हेर्नुपर्छ। विधायक बनाउँदाखेरि संवेदनशील बन्नपर्छ।’