विराटनगर। नेपाली राजनीतिमा ‘वैकल्पिक शक्ति’ को नारा दिएर १२ वर्षअघि नयाँ शक्ति पार्टी स्थापना गरेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको राजनीतिक यात्रा यति बेला गम्भीर मोडमा आइपुगेको छ।
नयाँ शक्ति, जनता समाजवादी हुँदै हालै ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) सम्म आइपुग्दा भट्टराईलाई सुरुवाती दिनदेखि काँध थापेका कोशी प्रदेशका नेताहरूले नै ‘बाबुरामबाट अब पार लाग्दैन’ भन्दै साथ छाड्ने लहर चलेको छ। भट्टराईले पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेर आएका सुदन किरातीलाई संयोजक बनाएर नयाँ पार्टी बनाए पनि वर्षौंदेखि उनलाई साथ दिँदै आएका नेताहरू भने अब भट्टराईको यात्रामा पूर्णविराम लगाउने निर्णय गरेका छन्।
नयाँ शक्ति पार्टीको स्थापना कालदेखि नै भट्टराईलाई आर्थिक र साङ्गठनिक रूपमा बलियो साथ दिएका नेता भरत दाहालले आफ्नो १२ वर्षको सहकार्य र लगानी बालुवामा पानी खन्याए सरह भएको बताएका छन्। प्रलोपा बन्नुअघि भट्टराई नेतृत्वको पार्टीका केन्द्रीय सचिव रहेका दाहालले आफूले वैकल्पिक राजनीतिको आशमा झण्डै १ करोड रुपैयाँ खर्च गरेको तर उपलब्धि भने शून्य रहेको भन्दै आक्रोश पोखेका छन्। उनले भट्टराईको कार्यशैलीबाट वाक्क–दिक्क भएको सुनाउँदै अब उपलब्धि हुने ठाउँमा लाग्नुपर्ने अवस्था आएको उल्लेख गरे। दाहालले अहिले धेरैजसो साथीहरूको दबाब रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जानुपर्ने रहेको समेत खुलाएका छन्।
त्यस्तै, अर्का केन्द्रीय सदस्य तेजलाल कर्णले पनि पार्टी परित्यागको घोषणा गर्दै बाबुरामले वैकल्पिक राजनीतिका नाममा कार्यकर्तालाई सधैँ भ्रममा राखेको आरोप लगाएका छन्। भट्टराईले अन्त्यमा फेरि पुरानै माओवादी विचारधाराका नेताहरूसँग मिलेर पार्टी बनाएको भन्दै उनले यसलाई ‘माओवादीहरूको नयाँ खोल’ को संज्ञा दिएका छन्। कर्णका अनुसार कार्यकर्ताले भट्टराईलाई नेतृत्व छोडेर पूर्वप्रधानमन्त्रीको हैसियतमा सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन सुझाव दिएका थिए, तर उनले केही व्यक्तिको स्वार्थमा केन्द्रित भएर नयाँ पार्टीको नाटक मञ्चन गरे। माओवादी पृष्ठभूमि भन्दा बाहिर निस्कन नसक्नु नै भट्टराईको मुख्य कमजोरी रहेको कर्णको ठम्याइ छ।
बाबुरामसँगको सम्बन्ध विच्छेदपछि कर्णले आफू रास्वपामा प्रवेश गर्ने निर्णयमा पुगिसकेको स्पष्ट पारेका छन्। उनले रवि लामिछानेले छोटो समयमै वैकल्पिक शक्तिको उचाइ हासिल गरेको भन्दै अबको वास्तविक विकल्प रास्वपा नै भएको दाबी गरे। कर्णले तत्कालीन नयाँ शक्ति पार्टीमा रहेका कोशी प्रदेश र पूर्वी नेपालका झण्डै ८० प्रतिशत कार्यकर्ता रास्वपामा प्रवेश गर्ने दाबी समेत गरेका छन्। भट्टराईलाई बौद्धिक नेताका रूपमा सम्मान गरे पनि उनमा राजनीतिक कला, चतु¥याइँ र साङ्गठनिक क्षमता शून्य रहेको नेताहरूको निष्कर्ष छ। उनीहरूले बाबुरामले पनि आफ्नी छोरी मानुसिलाई अगाडी बढाउन खोजेको आरोप लगाएका छन्।




















