इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार भएका एक थुनुवालाई प्रहरीले साढे तीन महिनापछि पुनः नियन्त्रणमा लिएको छ।
गत २०८२ साल भदौ २४ गते देशभर भएको 'जेनजी' आन्दोलनको क्रममा उत्पन्न परिस्थितिको फाइदा उठाउँदै हिरासतबाट भागेका सवारी ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ४ घर भएका २५ वर्षीय आङदावा शेर्पा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको विशेष प्रहरी टोलीले आज दमक नगरपालिका वडा नं. ६ स्थित बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकै बखत उनी भदौ २४ गते फरार भएका थिए। फरार भएदेखि नै प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको थियो।
पक्राउ परेका शेर्पालाई अहिले इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।