विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छानबिन आयोगका नाममा अनावश्यक दुःख दिन  खोजेको भन्दै आन्दोलनको गर्ने चेतावनी दिएको छ। 
सरकारले मुलुकलाई थप द्वन्द्व र मुठभेडतर्फ धकेल्ने प्रयास गरिरहेको भन्दै प्रतिवाद गर्ने एमालेले कोसीले जनाएको छ। यसका लागि आन्दोलनको घोषणा समेत गरिएको छ। 
सरकारका कदमलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ भन्दै सशक्त आन्दोलन गर्ने एमालेको चेतावनी छ। 
मङ्गलवार बिहान विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाए। त्यसकाविरुद्ध प्रदेशका १४ वटै जिल्लामा प्रदर्शन गर्ने उनले बताए।
प्रदेशले कमिटीले गत भदौ २३ र २४ गतेको घटनाको सन्दर्भ जोड्दै, जननिर्वाचित सरकारलाई अपदस्त गर्ने र असंवैधानिक सरकार गठन गर्ने कदमले लोकतन्त्र र संविधानमाथि प्रहार भएको उल्लेख गरेको छ। 
पार्टीले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुन ः स्थापना, सर्वपक्षीय सरकारको गठन, संविधान संशोधन र ताजा जनादेशको मागलाई पुनः अघि सारेको छ।
आगामी कार्यक्रमका बारेमा जानकारी दिँदै एमाले कोसीले प्रदेशका सबै जिल्ला कमिटीलाई शान्तिपूर्ण रूपमा खबरदारी प्रदर्शन, सद्‌भाव र्‍याली र विभिन्न स्वरूपका विरोधका कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ। 
एमालेले सरकारबाट गरिने कुनै पनि प्रकारका प्रतिशोधपूर्ण व्यवहार, धरपकड र अनुचित कार्य एक सेकेन्ड पनि नसहने चेतावनी दिँदै त्यसको कडा प्रतिवाद गर्ने स्पष्ट पारेको छ।