काठमाडौँमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका पनि सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो। जसअन्तर्गत आयोजक नेपाल समूह ‘बी’मा परेको छ।
नेपालसहित १० टोली सहभागी हुने प्रतियोगिता जनावरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ। जनवरी १४ र १६ मा वार्म अप तथा जनवरी १८ देखि मुख्य खेलहरू सुरु हुनेछन्।
समूह ‘ए’ मा बांङ्लादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ। यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन्।
नेपालले आफ्नो पहिलो खेलमा १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ। नेपालले पहिलो पटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो।
यस प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू सुपर सिक्समा छनोट हुनेछन्। सुपर सिक्सबाट शीर्ष ४ टोलीहरू सन् २०२६ मा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।




















