सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हो।

आगलागीमा परी दुर्गामानको दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेको छ। उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाइटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको समेत फेला परेको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए।

घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) लाई पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछका क्रममा मीना लामा (बम्जन) ले सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको दाबी छ।

मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा छ।