काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी बनाउने भएका छन्। उनले देश विकास पार्टीको पुनर्गठन गरेर पार्टीको नेतृत्व गर्ने र चुनाबमा जाने तयारी गरेका हुन्।
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर चुनाबमा जाने विषयमा रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका बालेन रास्वपासँगको सहकार्य सम्मानजनक नभएको निष्कर्षमा पुगेको र नयाँ पार्टी गठन गरेर निर्वाचनमा जाने तयारी गरेको स्रोतले बतायो।
पार्टी गठन गर्नका लागि बालेनले धेरै प्रभावशाली व्यक्तिहरुसँग छलफल गरिरहेको छ। यसका लागि आज पनि बैठक राखिएको पत्रकार ऋषि धमलाले बताए। धमला आफैं पनि बालेनको चुनाबी छलफलको एक हिस्सा हुन्।
धमलाका अनुसार बालेनले अहिले नयाँ पार्टी गठन गरेमा निर्वाचनमा जान मिल्दैन। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभाका लागि दल दर्ताको काम पूरा गरिसकेको छ। त्यसैले उनले आयोगमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि नै दर्ता भइसकेको पार्टीमार्फत चुनाबमा जाने तयारी गरेका छन्।
बालेनले देश विकास पार्टीमार्फत चुनाब लड्ने तयारी गरेको धमला बताउँछन्। देश विकास पार्टीको चुनाब चिन्ह लौरो हो। यही लौरो चुनाब चिन्हबाट बालेनले काठमाडौं महानगरपालिकाको मेयरको चुनाब जितेका थिए। बालेनले चुनाब जितेलगत्तै लौरो चुनाब चिन्ह राखेर दर्ता भएको हाम्रो नेपाली पार्टी अहिले नाम फेरेर देश विकास पार्टी भएको छ।
बालेनले निर्वाचन लड्नका लागि झापा क्षेत्र नम्बर ५ रोजेका छन्। यो पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाब क्षेत्र हो।




















