बिहीबार एक सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइयो। यत्तिका वर्षमा विभिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थामा परिवर्तनसँग दिवस मनाउने शैली पनि परिवर्तन भएको छ। तर हरेक परिवर्तनका नायक अर्थात् श्रमिकहरूको अवस्थामा भने ज्यूँकात्यूँ रहेको पाइन्छ।
अझै पनि श्रमिकहरूका समस्या, गुनासा उही पुरानै छन्। न्यूनतम पारिश्रमिक बढ्न नसक्नु ,श्रमको ग्यारेन्टी र श्रमिकको सुरक्षा नहुनु जस्ता समस्याले श्रमिकहरू ग्रस्त छन्। जुनै सरकार आए पनि श्रमिहरुको हक हितको लागि पर्याप्त काम नगरेको उनीहरूको गुनासो छ।
विगत १५ वर्षदेखि रङ लगाउने काम गर्दै आएका जनकपुरका श्रमिक धर्मचन्द्र बैठा सरकारबाट अब आफूहरूले आशा मारेको सुनाउँछन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले श्रमिकहरूको गुनासा सरकारले सुन्न नसकेको भन्दै अब नयाँ युवाहरू नेतृत्वमा आउनुपर्ने बताए। पुराना राजनीतिक दलहरूले सत्ता चलाउँदासम्म श्रमिकको अवस्थामा परिवर्तन नआउने उनको भनाई छ।
उनले भने,‘रङको काम गर्न लागेको १५ वर्ष भयो। हामीलाई सरकारको केही आशा नै छैन। सरकारलाई भनेर पनि केही गर्ने होइन। आफ्ना कुरा जति सुनाए पनि सरकारले केही गर्दैन। आफूखुसी गर्छ,’ उनले अगाडि भने,‘एमसीसीकै कुरा गर्दा पूरै देशका नागरिकले विरोध गर्दा पास भयो। श्रमिकहरूको हक हितको लागि सरकारले केही काम गर्न सकेको छैन। हालका पाका नेताहरू नहटेसम्म केही हुँदैन। नयाँ युवाहरू जबसम्म आउँदैनन् तबसम्म देशको हालत यस्तै नै हुन्छ। पार्टीले देश बन्दैन, व्यक्तिले बनाउनुपर्यो। पार्टीले त हामीलाई उल्लु बनाउँछन् र पार्टी भित्रभित्रै एक भइहाल्छन् आखिर हामी जनता उल्लु हुने हो।’
त्यस्तै, धादिङकी श्रमिक सरिता राणा मगरको पनि गुनासो उस्तै छ। बिहानदेखि दिनभरि काम गर्दा आठ सय कमाई हुँदा सन्तुष्ट हुने अवस्था नरेको उनी बताउँछिन्। किनकि नियमित काम पाउन सकिँदैन। सरकारले न्यूनतम पारिश्रमिक नबढाएको कारण जति छ त्यसैमा चित्त बुझाउने अवस्था रहेको उनले दुखेसो पोखिन्।
‘घरमा काम गर्न थालेको चार पाँच वर्ष भयो। बिहानदेखि बेलुकीसम्म घोटिदा आठ सय रुपैयाँ दिन्छ। कोही पुरुषहरूको मेरो भन्दा धेरै नै छ। पारिश्रमिक बढाउनुपर्ने हो बढेको छैन। यसैमा चित्त बुझाउनु परेको छ। यस्तै काम सधैँ पनि हुँदैन। सधैँ काम भएन भने त परिवार पाल्न पनि पुग्दैन।’
त्यस्तै भक्तपुरका श्रमिक जगदीश श्रेष्ठले श्रमिकहरूको सुरक्षाको विषयलाई उठाएका छन्। दुर्घटनामा पर्दा व्यहोर्ने कुनैपनि सम्बन्धित जिम्मेवार निकाय नहुँदा आफूहरू मारमा परेको उनले सुनाए।
उनले पनि नयाँ युवाहरू नेतृत्वमा आए मात्रै श्रमिकहरूको जीवनमा परिवर्तनको आशाको दियो बाल्न सक्ने धारणा राखे।
उनले भने,‘अहिले श्रमिकहरूको समस्या नै समस्या रहेको छन्। एक त काम पाउन नै कठिन छ। नियमित काम गर्छु भन्दापनि पाउने अवस्था छैन। न्यूनतम पारिश्रमिक १७ हजारले त केही हुँदैन। बालबच्चा पढाउनै पर्यो, आफूले पनि खान पर्यो। सरकारले हेरेको भए यस्तो अवस्था श्रमिकको हुने नै थिएन। नयाँ तरिकाले नै जानुपर्छ। नयाँ नेतृत्व युवाहरू नै आउनुपर्छ। सरकारले केही पनि गर्दैन। काम गर्दा दुर्घटना हुन्छ, त्यसको सुरक्षा छैन। दुर्घटनामा परेर साढे दुई लाख खर्च भयो तर कम्पनीले ५० हजार मात्र दियो। यस्तै छ हाम्रो हाल।’