मुगुका किसानले लगाएको स्याउको बिरुवामा रोग लाग्न थालेपछि किसान चिन्तित बनेका छन्। बिरुवाको बोक्रा खुइलिएर जाने, ढुसी लाग्ने, ऐजेरु पलाउने र बिरुवा सुक्दै जाने समस्याका कारण स्याउ कृषक मारमा परेका हुन्।
मुगालीहरुको मुख्य आम्दानीको स्रोत पछिल्लो समयमा स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर किसानहरू चिन्तित बनेका हुन्। 
मुगुमा सडक सञ्जाल जोडिएपछि कृषकहरू स्याउ खेतीतिर आकर्षित छन्। हावापानी पनि स्याउ खेती उत्पादनका सुहाउँदो थियो तर पछिल्लो समय बिरुवाहरूमा किराको सङ्क्रमणले बोक्राको छाला खुइलिने बिरुवामा ऐजेरु झार पलाउने, ढुसी लाग्ने बिरुवा सुक्दै जाने समस्या बढेको हो। अब स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको छ। 
यता स्थानीय सरकार, जिल्ला कृषि विकास कार्यालय, अन्य कृषिसँग काम गर्ने कुनै पनि संघसस्थाले नहेरेको छाँयानाथ रारा नगरपालिका–६ का कृषक जसन्त कुलालले बताए।
मुगुलगायत अन्य कर्णालीका स्याउ उत्पादन हुने जिल्लाहरूमा कृषकहरूले लगाएका बिरुवाहरूमा पेपरी वाग रोग, स्याउका हागाहरुमा चिरा पर्ने, बोक्रा निस्कने, बिरुवाहरू सुक्दै जाने र स्याउका बिरुवामा अन्य झारपात उम्रने, ढुसी जस्ता रोग देखिएको उनीहरूको भनाइ छ।
विषेशगरि कृषकहरूलाई सिकाएको प्राकृतिक ज्ञान अनुसार काम नगर्ने, कृषकहरूलाई प्राविधिक ज्ञान नहुँदा समयमा गोडमेल, सुरक्षा नगर्ने, बिरुवामा लगाउने चुना, निलोतुथो रेसियो नमिलाउनाले रोग लाग्ने गरेको जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए।  
मुगुमा रहेका चार स्थानीय तहमा रहेको जमिनको कुल भूभागको ११७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिरहेका कृषकहरूका बिरुवा हरेक वर्ष यस्तै, रोग लाग्ने हो भने किसान थप चिन्तित बन्ने देखिन्छ।